कविता चौतारीमा दुई कविको काव्यिक सुसेली


 


काठमाडौँ, माघ १६

अहिले राजधानी होस् या मोफसल, देश होस् या विदेश कतै एकल, कतै युगल त कतै सामूहिक कविता वाचनका कार्यक्रमहरू आयोजना भइरहेका छन् । यसै क्रममा पछिल्लो पटक ‘मिलाप’ मासिक पत्रिकाले नियमित कविता वाचन शृङ्खलाको आरम्भ गरेको छ– युवा कविद्वय उमेश अकिञ्चन र चन्द्र रानाहँछालाई प्रस्तुत गरेर ।

ओझेलमा परेका स्रष्टालाई अवसर प्रदान गर्नुका साथै नेपाली कविताको समृद्धिमा यथासक्य योगदान पु¥याउने उद्देश्यसहित काठमाडौंको बागबजारस्थित सिटी म्याक्समा आइतबार आयोजित काव्यवाचन शृङ्खला ‘कविता चौतारी’को पहिलो संस्करणमा ‘मोनालिसा र आठ मार्च’ कविताकृतिका सर्जक उमेश अकिञ्चन र ‘मनमा आँधी चलेपछि’ तथा ‘थिबिया चराको गीत’ दुई कविताकृतिका सर्जक कवि चन्द्र रानाहँछाले आ–आफ्ना नयाँ र पुराना गरी दश–दश थान कविता पस्किए ।

कविता वाचनको पहिलो चरणमा कवि रानाहँछा प्रस्तुत भए । ‘अर्को जन्ममा’ शीर्षक कविताबाट आफ्नो प्रस्तति शुरु गरेका उनले ‘यात्रामा’, ‘आमाको सम्झना’, ‘अनुपस्थितिमा’, ‘रेटिएको इतिहास’, ‘आपाको सालिक’, ‘मृत आकाश’, ‘ईश्वरको सवारी’, ‘भोक र सपना’, ‘तिमीलाई एक्कासि भेटेपछि’ र ‘नफर्किनेहरूलाई’ सुनाए ।

दोस्रो तथा अन्तिम चरणमा प्रस्तुत भए कवि अकिञ्चन । उनले ‘दोस्रो पृथ्विी’, ‘आमाको समाधिबाट’, ‘भूगोलपार्क’, ‘मोनालिसा र आठ मार्च’, ‘सोल्टीनी सहर’, ‘बाराक ओबामा’, ‘दृष्टिकोण’, ‘टोक्यो टेकेका डोबहरू,’ ‘किनारीकृति प्रश्न’ र ‘जीवन ः तीन दृश्य’ शीर्षकका कविताहरू सुनाए ।

प्राज्ञ श्रवण मुकारुङले चन्द्रको कवितामा जातीय र सांस्कृतिक बिम्बहरू सघन रुपमा आउने गरेको तथा उमेशका कवितामा चाहिँ समसामयिकताको मात्रा बढी हुने बताए । उनले भने, ‘वास्तवमा दुवै कवि यो समयका प्रभावशाली शक्ति हुन् ।’

आयोजक मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीका अनुसार समसामयिक राजनीति, समाज, साहित्य र संस्कृतिका विविध पक्षलाई समेटेर विगत आधा दशकदेखि निरन्तर रुपमा प्रकाशन हुँदै आएको मिलापले बजारमा सस्ताखालका हल्लाहरू सिर्जना नगरी चुपचाप साधनामा समर्पित भइरहेका सर्जकहरूलाई प्रस्तुत गर्ने योजना लिएको छ । प्रस्तुत कार्यक्रम त्यसैको सुरुवात हो ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्