रुकुम केन्द्र बनाई ५.४ म्‍याग्निच्युडको भूकम्प


 


काठमाडौँ, असार ५

शनिबार साँझ ६ बजेर ८ मिनेटमा पश्चिम नेपाल केन्द्र बनाई ५ म्याग्निच्युडमाथिको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.४ म्याग्निच्युडको कम्पनको केन्द्र ढोरपाटन आरक्ष केन्द्रको सीमानजिकै रुकुममा रहेको छ।

भूकम्पको धक्का काठमाडौँमा पनि केहीले महसूस गरेको सामाजिक सञ्जालमा लेखेका थिए।

रुकुमका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले साँझ साढे ६ बजे पहिलोपोस्टसँग कुरा गर्दै आफूहरुलाई भूकम्प महसूस नभएको जानकारी दिँदै भूकम्पबाट क्षति भए नभएकोबारे अहिलेसम्म कुनै विवरण आइनसकेको बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुरन क्षेत्रीलाई पहिलोपोस्टले टेलिफोनमा सम्पर्क गर्दा उनले भने, ‘भूकम्प गयो र, हामीले त थाहै पाएनौँ त। हामी सदरमुकाम मुसिकोटमै छौँ।’

परकम्प होइन नयाँ भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रुकुम केन्द्र भएको यो भूकम्प वैशाख १२ को भूकम्पको परकम्‍प नभएर नयाँ भूकम्प हो। यसअघि पनि उदयपुर र हुम्ला केन्द्र बनाई नयाँ भूकम्प गए पनि ५ म्याग्निच्युडमाथिको भूकम्प गएको गोरखा भूकम्पपछिको यो पहिलो पटक हो।
भूगर्भविद्हरुले पश्चिम क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकोले जोखिम रहेको बताउँदै आएका थिए।

pahilopost

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्