मातृभाषा कविता महोत्सव आयोजना गरिँदै
काठमाडौँ, माघ २१
अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘मातृभाषा कविता महोत्सव’को आयोजना गर्दैछ । फागुन १० गते प्रज्ञा भवन कमलादीको प्रेक्षालयमा आयोजना हुने महोत्सवमा मुलुकभित्र बोलिने १२३ मातृभाषा मध्येका मातृभाषी कविहरूको सहभागिता रहने नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले जानकारी दिनुभयो ।
प्राज्ञ मुकारुङका अनुसार मुलुकभित्र बोलिने मातृभाषा साहित्यको सम्मान, संरक्षण एवम् संवद्र्धनका निमित्त प्रतिष्ठानले विगत केही वर्षअघिदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा कविता महोत्सवको आयोजना गर्ने गरेको छ ।
यसैगरी प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा असार ९ गते नेपाली भाषामा ‘राष्ट्रिय कविता महोत्सव’ आयोजना गर्दैआइरहेको छ ।
प्रतिष्ठानले महोत्सवमा सहभागी हुन माघ २३ गते आइतबारभित्र नेपाली भाषा बाहेकका इच्छुक मातृभाषी कविहरूले बढीमा १५० शब्दसम्मको कविता नेपाली अनुवादसहित पठाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार