हास्यव्यङ्ग्यकार घिमिरेको ‘थप्पड’ सार्वजनिक


 


काठमाडौँ, माघ २८

हास्यव्यङ्ग्यकार देवी घिमिरेको व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘थप्पड’ को पूर्व सभामुख सुवास नेम्वाङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा आज सार्वजनिक गर्नुभयो ।

सिस्नुपानी नेपालले आयोजना गरेको सो कार्यक्रममा पूर्वसभामुख नेम्वाङले राजनीति विकृत्ति भएको कुरा हास्यव्यङ्ख्यमार्फत धेरै आउने गरेको र राजनीति सबैको नीति भएको हुँदा यसलाई सबैले सुधार गर्नुपर्ने जरुरी भएको बताउनु भयो ।

राष्ट्रकवि घिमिरेले प्रत्येक शरीरका अङ्गको व्याख्या गरिएको कृतिमा छोटाछोटा अनौठा निबन्धले नेपाली साहित्यलाई राम्रो सामग्री पस्किएको विचार व्यक्त गर्नु भयो ।

“हास्यव्यङ्ग्य टेलिसिरियलमा उत्तेजकभन्दा पनि समाज परिर्वतन गर्ने खालका हुनुपर्छ, समाज परिवर्तन गर्ने खालका हास्यव्यङ्ग्य हेर्न मलाई पनि मनपर्छ”– राष्ट्रकवि घिमिरेले थप्नुभयो ।

लेखक घिमिरेले जिन्दगीमा थप्पड खाने ठाउँ धेरै हुने भए पनि आफूले राष्ट्रका लागि समर्पण गर्नुपर्ने र त्यसैप्रति लक्षित गरेर आफूले निबन्ध लेखेको बताउनुभयो ।

शिक्षासेवी डा रामप्रसाद ज्ञवाली, सिस्नुपानी नेपालका महासचिव टङ्क आचार्य र बालकलाकार अनुज्ञा नेपालले हास्यव्यङ्ग्यकार घिमिरेका बारेमा जानकारी दिँदै बहुप्रतिभाशाली र राष्ट्रको हितमा काम गर्ने व्यक्तिका रुपमा चित्रण गर्नुभएको थियो ।

हास्यव्यङ्ग्यकार घिमिरेलाई सिस्नुपानी नेपालले सिस्नुपानी शैलीले सम्मानस्वरुप १०८ किलाको माला लगाएर सम्मान गरेको थियो ।

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्