त्रिकोणात्मक महिला टी-२० शृंखलामा नेपालको लगातार तेस्रो हार


 


काठमाडौं । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आईमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। सम्झना खड्काले २३ रन बनाइन् ।नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २-२ विकेट लिए ।

इभा लिन्च र इसाबेल वोनिङले १-१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सीता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् ।

यो उनको बेस्ट बलिङ समेत हो । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्