पूर्वाञ्चलस्तरीय वाङ्मय गोष्ठी हुँदै


 


काठमाडौँ,  फागुन १८

नेपाल प्रज्ञा–प्रतिष्ठानले देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरी हीरक वर्ष मनाइरहेको छ । यसै सिलसिलामा पूर्वाञ्चलको ऐतिहासिक नगरी विराटनगरमा यही फागुन १९ र २० गते प्रतिष्ठानले बृहत् ‘पूर्वाञ्चल वाङ्मय गोष्ठी’को आयोजना गर्ने भएको छ ।

दुई दिने कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रपछि उपन्यास, समालोचना र संस्कृतिसम्बन्धी बृहत् विचार गोष्ठी सञ्चालन हुनेछ । दोस्रो दिनको पहिलो चरणमा बहुभाषी र दोस्रो चरणमा खुल्ला कविगोष्ठी आयोजना हुनेछ ।

स्थानीय संयोजक प्रतिष्ठानका प्राज्ञ सभा सदस्य विवश पोखरेलका अनुसार विराटनगर–११, हाटखोलास्थित आरोहण गुरुकुल भवनमा बिहानैदेखि आयोजना हुने गोष्ठीमा पूर्वाञ्चलका प्रतिनिधि स्रष्टाहरूकोे सहभागिता रहने छ ।

कार्यक्रमको तयारीका लागि प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे हप्ता दिनअघिदेखि पूर्वमा रहेका छन् । उक्त गोष्ठीमा भाग लिन काठमाडौँबाट प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. ज्ञानू पाण्डे, श्रवण मुकारुङ र मातृका पोखरेल, प्राज्ञ सभा सदस्य शशी लुमुम्बू, साहित्यकार मञ्जु काँचुली, कवि सुको साइबर, विश्वास घिमिरेलगायतको टोली बुधबार पूर्व प्रस्थान गरेको प्रतिष्ठानस्रोतले जानकारी गराएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्