अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल आज म्यानमारसँग भिड्दै
काठमाडौं, फागुन ११ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज म्यानमारसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन् ।
नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक–एक गोलले हराउँदै उपाधि नजिक पुग्दा म्यानमारले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराएको हो ।
म्यानमारले अहिलेसम्म नेपालसँग हार बेहोरेको छैन। नेपालले म्यानमारसँग अहिलेसम्म ३ खेल खेलेको छ । जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।
एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिताको उपाधि भिडन्त भने फागुन १४ हुनेछ ।
ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो ।
हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यस पटक त्यो खडेरी तोड्ने लक्ष्यमा हुनेछ । नेपाल १२ पटक अन्तर्राष्ट्रय प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन ।
म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्नेमध्ये सबैभन्दा उच्च वरीयताको टोली र उपाधिको प्रबल दाबेदार हो । म्यानमार हाल फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा छ । म्यानमारले पाँच पटक एएफसी महिला एसियन कप खेलिसकेको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार
















