दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो
काठमाडौँ, फागुन १६ । दुई वर्षभित्र नै आयोजना गर्ने गरी कर्णाली प्रदेशमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद आयोजनाको मिति फेरि सरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले खेलकुदको मिति फेरि सार्ने निर्णय गरेको हो । खेलकुदको मिति आगामी जेठ ३ देखि १० गतेसम्मका लागि तोकिएको छ ।
यसअघि मंसिर र चैतमा मिति निर्धारण भएको थियो । जुन मिति सारिएर जेठको अन्तिम साता पु¥याइएको छ । बिहीबार राखेपको बोर्डले तेस्रोपल्ट मिति निर्धारण गर्दा सातैवटा खेलकुद विकास परिषद्ले बैठक बहिष्कार गरेका थिए ।
साथै प्रादेशिक संरचनाअनुरूप प्रदेश खेलकुदलाई जिम्मेवारी दिनुपर्ने ठाउँमा उनीहरूलाई बाइपास गरेर खेलकुद निर्देशिका पास गराइनुमा पनि असहमति रहेको ती सदस्यसचिवले बताए ।
सातै प्रदेशका सदस्यसचिवको बैठक बसेर साझा धारणा राख्ने तयारीसमेत गरिएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८१, शुक्रबार
















