नेपाली महिला फुटबलको फिफा वरीयतामा चार स्थान सुधार



काठमाडौं । नेपाली महिला फुटबल टिमको फिफा वरियता सुधार भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार स्थान सुधार गरेको हो ।

फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको छ ।

नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा थियो। नेपाली महिला टिमले हालैमात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगिताको फाइनलसम्म पुग्दा नेपाली टिमले लेबनान र किर्गिस्तानविरुद्ध समान १–० को जित निकालेको थियो । फिफा फेब्रुअरी विन्डोको यही प्रदर्शनका कारण नेपाली टिम चार स्थान माथि उक्लिएको हो ।

वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औँ स्थानमा यथावत् छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्