चार देशीय महिला टी–२० क्रिकेट : आज नेपालले नामिबियासँग खेल्दै
काठमाडौं, फागुन २४ । चार देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज (शनिबार) आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्दैछ ।
खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे सुरु हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।
सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई÷दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ ।
त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।
प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार
















