अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट : नेपाल आज युगान्डाविरुद्ध खेल्दै



काठमाडौँ, फागुन २५ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला क्रिकेट कपमा नेपालले आज दोस्रो खेलमा घरेलु टोली युगाण्डासँग खेल्दैछ ।

खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । यो नेपाल र युगान्डाकै यो शृंखलामा दोस्रो खेल हो । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगाण्डाले भने शनिबार हङकङलाई हराएको थियो ।

शनिबारको खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित बनेको थियो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डीएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियो।

खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो। नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो ।

नेपालले यसपछि फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्