जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता



जुम्ला, चैत ३० । जुम्ला सदरमुकाम खलङ्गामा आगामी वैशाख २७ गतेदेखि जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु हुने भएको छ ।

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो ।

क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ ।

यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवद्र्धनमासमेत योगदान पुग्ने विश्वास छ । प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ ।

प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनीका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्‍ट्रिय धावकको सहभागिता रहने छ ।

विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकासमेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुनेछ ।

५१ किलोमिटरको प्रतियोगितामा प्रथम हुने (महिला÷पुरुष) लाई एक÷एक लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) मा दोस्रो स्थान हासिल गर्नेलाई जनही ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई तीन हजार रुपैयाँ प्रदान गरिने छ ।

विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला÷पुरुष) १० हजार, दोस्रो हुनेलाई ६ हजार र तेस्रो हुनेलाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्