समझदारी कायम गरेर निजामती विधेयक टुंग्याउनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती सेवा विधेयकमा समझदारी कायम गरी टुंगो लगाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समतिको बुधबारको बैठकमा धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले निजामती विधेयक सन्दर्भमा उपसमिति र समितिले गतिका साथ काम गरेकोमा आभार व्यक्त पनि गरे।

उनले भने–‘प्रतिवेदन हेरिसकेपछि यसलाई कसरी टुंग्याउने भन्नेमा लाग्नुपर्छ, समझदारी कायम गरेर टुंग्याउनुपर् । हामी यहाँ बस्दै गर्दा आन्दोलन घोषणाका विषय पनि आएका छन्। समिति र उपसमितिले काम गरिरहेको बेला सरोकारवाला पक्षहरूले पनि मान राखिदिनुपर्छ।’

उनले विधेयक पास गर्न राम्रो वातावरण बन्दै गएकोले वातावरण बिग्रन नदिन सबैमा अनुरोध पनि गरेका छन्। समितिका सभापति रामहरि खतिवडाले विधेयक पास गर्ने गरी अघि बढेको समितिमा जानकारी गराएका थिए।

समितिबाट संघीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनंकित कर्मचारीहरूले भने आन्दोलनको घोषणा गरेका छन्।

निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीसहितले बुधबार विज्ञप्ति निकालेर आफूहरूले उठाएका माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनको घोषणा गरेका हुन्।

१८–२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने अवस्था, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा विभेद, समायोजनबाट सिर्जित समस्या, अन्तरप्रदेश सरूवाको अभाव÷अपारदर्शी सरूवा प्रणाली तथा न्यून सेवा सुविधा लगायतका कारण कर्मचारीहरूको मनोबल कमजोर भएको उनीहरूको भनाइ छ।

यी समस्याको समाधान हुने गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न आवश्यक रहेको कर्मचारीहरूले बताएका छन्।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्