१८ हजार विदेशीलाई निकाल्ने तयारीमा पोर्चुगल सरकार



काठमाडौं । पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।

पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ । यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ ।

यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ । सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ । त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ ।

आप्रवासन प्रमुख मुद्दा

पोर्चुगलमा आप्रवासन एउटा प्रमुख मुद्दा बनेको छ । अनियमित रूपमा देशमा प्रवेश गर्नेहरूलाई निष्कासन गर्ने व्यवस्था अझ बलियो बनाउनुपर्ने माग उठिरहेको छ । ‘युरो न्यूज’का अनुसार, मन्त्री एन्तोनियो लेइतो अमारोले गत साता पनि यो मुद्दा उठाएका थिए । उनले पोर्चुगलको डिपोर्टेसन प्रणाली प्रभावकारी नरहेको भन्दै यसको समीक्षा आवश्यक रहेको बताएका थिए ।

उनका अनुसार, पोर्चुगल युरोपका ती तीन देशहरूमध्ये एक हो जहाँ सबैभन्दा कम संख्यामा डिपोर्ट गरिन्छ । तीमध्ये धेरैजसो त्यस्ता व्यक्ति हुन्छन् जसले नियम उल्लंघन गरेका कारण देश छाड्नुपर्ने आदेश दिइन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्