नारी दिवसका अवसरमा विचार गोष्ठी


 


काठमाडौँ, फागुन २७

“नारी र पुरुषबिचको सहअस्तित्व र अन्तरसम्बन्ध प्रगाढ बने मात्रै जीवन सफल र सुमधुर हुन्छ” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको समालोचना तथा निबन्ध विभागद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।

‘नारी र पुरुष अन्तरअस्तित्व सम्बन्धि अवधारणा र साहित्यमा त्यसको प्रभाव’ विषयक विशेष विचार गोष्ठीमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले “नारी र पुरुष सँगसँगै जानुको विकल्प नरहेको” धारणा व्यक्त गर्नु भयो ।

उहाँले बुद्धदर्शनको उक्ति उद्यृत गर्दै नारी र पुरुष अन्तरअस्तित्वमा जोड दिनु भयो, “यदि यो छ भने त्यो छ, यदि यो छैन भने त्यो छैन ।”

प्रतिष्ठानकी समालोचना तथा निबन्ध विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ प्रा.डा. ज्ञानू पाण्डेले ‘‘समाजले चाहेअनुरुपको उपलब्धि अझै नभइरहेको” उल्लेख गर्नुहुँदै “नारी र पुरुष दुईटैले जितेको संसार निर्माणमा नारी दिवसले सहयोग पु¥याउने” विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा समालोचक तथा अनुवादक बलराम अधिकारीले गोष्ठीको शीषर्कमा आधारित रहेर अवधारणापत्र प्रस्तुत गर्नुभयो । अधिकारीको अवधारणापत्रले ‘नारीशक्ति अपार रहेका’ उल्लेख गर्दै साहित्यमा चाहिँ प्रभावकारी रूपमा त्यसको प्रभाव नदेखिएको निचोड रहेको थियो ।

त्यसै गरी कार्यक्रममा वरिष्ठ लैङ्गिक विज्ञ प्रा.डा. चन्द्रा भद्राले विशेष प्रवचन दिनु भयो । “नारीलाई कुनै पनि निकायमा सहभागिता नदिई गरिएको कार्य फलदायी नहुने” विचार व्यक्त गर्दै उहाँले “आम महिलाको जीवनशैली र दैनिकी हेर्दा नै नारीशक्ति र सामथ्र्यबारे प्रष्ट हुने” सुनाउनु भयो ।

प्रा.डा. पे्रमशान्ति तुलाधरको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा प्रा.डा. विष्णु एस राई, प्रा.डा. विणा पौडेल,सञ्चारकर्मी एवम् लेखक कपिल काफ्ले र सञ्चारकर्मी नेहा शर्माले विषयवस्तुमाथि सङ्क्षिप्त प्रवचन दिनुभएको थियो ।

गोष्ठीमा प्राज्ञ एवम् कवि श्रवण मुकारुङले ‘आइमाई’ शीर्षकको कविता र कलाकार हरिवंश आचार्यले ‘तिम्रो माया उनान्सय मेरो माया सय…’ बोलको गीत सुनाउनु भएको थियो ।

सो अवसरमा कुलपति उप्रेतीद्वारा प्रज्ञा–प्रतिष्ठानले प्रकाशन र प्रा.डा. कुमारप्रसाद कोइराला र रत्नमणि नेपालले सम्पादन गरेको ‘नेपालका नारी साहित्यकार’ नामक परिचय कोश विमोचन गरिएको थियो ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्