द्वन्द्वपीडित प्रतिनिधित्वको जिम्मा म लिन्छु : देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित जिम्मा आँफुले लिने बताएका छन् ।
द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै सोमबार बिहान बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटमा यस्तो बताएका हुन् ।
देउवाले भने, ‘पीडितको प्रतिनिधित्व गराउने जिम्मा म लिन्छु, जान्न नभन्नुहोला, बरु मलाई दुईजनाको नाम दिनुस् ।’
देउवाले संक्षिप्त सूची बनाउनुअघि पीडितको प्रतिनिधलाई नभेटेर सिफारिस समिति चुकेको भन्दै आयोगहरूमा पीडित पक्षबाट प्रतिनिधित्व गराइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि प्रकाशित ३४ जनाको संक्षिप्त सूचीमा पीडितका प्रतिनिधिहरूको नाम नअटाएपछि द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिहरूले आपत्ति जनाउँदै आएका छन् ।
आइतबार साँझ संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।
पीडितका प्रतिनिधिहरू आजै ३ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न दाहाल निवास खुमलटार जाँदैछन् ।
यसअघि, द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षणपत्र बुझाएका थिए ।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार
















