प्रचण्डलाई योगेशले भने – सिसाको घरमा बसेर ढुंगा हान्ने मूर्खता नगर्नुस्
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विपक्षी दलको नेताहरुलाई सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न सुझाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले प्रमुख प्रतिपक्षी दललाई लक्षित गर्दै यस्तो बताएका थिए ।
प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलका नेताहरुले टिप्पणी गर्दै आईरहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार ३८ मिनेट लामो नीति तथा कार्यक्रममाथि टिप्पणी गरे ।
त्यसक्रममा प्रचण्डले व्यक्त गरेको विचारको आलोचना गर्दै एमालेका सचिव समेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न भनेका हुन् ।
भट्टराईले भने, ‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस् ।’
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार
















