भुटानी शरणार्थी र सहकारीपछि टेरामक्स प्रकरण : प्रतिनिधिसभाका तीन सांसद निलम्बित



काठमाडौं । एकपछि अर्को प्रकरण बाहिरिंदा सांसद पद नै निलम्बन हुने क्रम पनि बढिरहेको छ ।

आजसम्म प्रतिनिधिसभाका तीन जना सांसद निलम्बित भएका छन् । पछिल्लो पटक आज नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बित भएसँगै प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा परेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बन भएको हो ।

भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानूनी व्यवस्था छ । बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् ।

त्यसैगरी, भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्