एमालेले बनायो २७ हजार घर


 


काठमाडौं, असार १०

एमालेले भूकम्प प्रभावित क्षेत्रमा पार्टीले चलाएको पुनर्निर्माण अभियानको एक महिने अवधिमा २७ हजार २ सय ७१ वटा नयाँ अस्थायी घर बनाएको छ । एकमहिने स्वयंसेवक अभियानको बिहीवार समापन गर्दै एमालेले यस अवधिमा २२ हजार ६ सय ३० जोखिमयुक्त घरका भग्नावशेष हटाएको जानकारी दिएको छ ।

यस्तै अभियान अन्तर्गत १ हजार १३ वटा विद्यालय÷क्याम्पसहरूका अस्थायी भवन पनि एमालेले बनाएको छ । आफ्नो अभियानले बनाएका कतिपय संरचना लामो समयसम्म काम लाग्नेगरी समेत बनाएको स्वयंसेवक अभियानका संयोजक गोकर्ण विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अभियानको समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै एमालेले  मठ, मन्दिर र ऐतिहासिक स्थलहरूमा सफाई गरी भग्नावशेष हटाउने काम गरेर आफुले पुर्खाहरूको पौरखका प्रतीकहरूको संरक्षण, संबद्र्धन र पुरातात्विक सम्पदाहरूको महत्वलाई आत्मसात् गरेको पनि जनाएको छ ।  एकमहिने अभियानमा एमालेले देशका प्रमुख पर्यटकीय गन्तव्यहरू हनुमानढोका–ठमेल, लुम्बिनी, जनकपुर, पोखरा, स्वर्गद्वारी, हलेसी आदिमा ‘विशेष पर्यटन प्रबद्र्धन कार्यक्रम’ सञ्चालन गरको थियो  ।

विशेष अभियानका क्रममा ‘नेपाल पर्यटकहरूका लागि सुरक्षित छ, हाम्रा गन्तव्यहरू खुला छन्’ भन्ने सन्देश प्रवाह गरेको थियो ।   १० जेठमा भृकुटीमण्डप, काठमाडौंमा देशभरका स्वयंसेवक भेला गरी १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा केन्द्रीकृत रूपमा खटाएको थियो ।

पछि ८ जिल्लाका १५ निर्वाचन क्षेत्रहरूमा थप गरी अभियानलाई २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रहरूमा विस्तार गरेको थियो । यस्तै ताप्लेजुङका केही गाविसहरूमा आएको भीषण पहिरोका पीडितहरूका लागि पनि तत्काल परिचालित स्वयंसेवक टोलीले प्रभावित गाउँहरूमै पुगेर उद्धार र राहत वितरण गरेको थियो ।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्