प्रधानमन्त्री ओलीले भने–गृहमन्त्रीको राजीनामा मागेर सदन अवरुद्ध पार्नु लोकतन्त्र विपरीत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।
नेकपा एमालेको अध्यक्ष समेत रहेका ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मंगलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताए ।
उनले भने–‘भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी कुरा गर्न खोजेँ तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद यस्ता नचाहिने कुरामा सधैँ बन्द हुँदैन’ ।
सडकमा कुनै समूहले केही माग लिएर बस्दा कुदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्नेजस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले भने–‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’
कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै ओलीले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने प्रवृत्ति देखिएको बताए ।
ओलीले भने–‘समाज थितिविधिमा चल्नुपर्छ । संविधान र कानूनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।’
त्यसैगरी ओलीले राजतन्त्र माग्नेहरू देख्दा दया लागेर आउने बताए । दास मानसिकता बोकेका मानिसहरू नागरिक सर्वोच्चता छाडेर राजतन्त्रको पक्षमा उभिएको टिप्पणी गर्दै उनले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैं शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लागेको बताए ।
उनले भने–‘कस्तो मानसिक दरिद्रता ? आज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? सबैभन्दा ठूलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधले चलाएका छन्, भारत, अमेरिका पनि निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, अरू ठूला देशहरू पनि, केही देशमा राजतन्त्र खुम्चिएर साँच्चै शेरमोनियल भएर टिकेको छ । दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ । केही छैन ।’
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार
















