म देश दौडामा निस्किँदा एमालेलाई सोध्नु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने बताएकी छन् ।
सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी हुन् ।
आफू देशको राष्ट्रपति भइसकेको र पार्टीगत हिसाबले संगठित सदस्यता लिनुभन्दा अगाडि देखि नै पार्टीमा काम गरेको बताउँदै उनले भनिन्, ‘देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वाभाविकै हुन्छ । त्यसकारण मैले पनि समाजसँग पनि साक्षात्कार भेटघाट गर्दै गर्नुपर्यो । केछ जनताको विचार आकांक्षाहरु, नयाँ पुस्ता के चाहन्छन् ? त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन ।’
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार
















