माओवादीलाई पहिलो पार्टी बनाउन नेपाल र विप्लवसँग एकताको छलफल हुँदैछ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।
मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको पनि बताए ।
देशैभर एकचोटी माओवादी केन्द्रको पक्षमा माहोल बन्दै गएको बताउँदै उनले यो परिस्थितिमा पार्टी केन्द्रले पनि अझै राम्रोसँग जनतासँग जोडिने भनेर विशेष योजना अन्तर्गत नै अभियान चलाएको बताए ।
उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा झण्डै १० हजार ब्यक्ति पार्टी प्रवेश गरेको दाबी गरे ।
प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताए ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार
















