८० वर्षीय वृद्ध र १८ वर्षीया किशोरी मृत फेला, एक जना पक्राउ



काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी र कैलालीको लम्कीचुहा नगरपालिका–१ मा दुई जना ब्यक्ति मृत फेला परेका छन् ।

प्रहरीका अनुसार छम्पीस्थित एक गाई फर्ममा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार मृतक मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन हुन्। उनी आफ्ना २० वर्षीय श्रीमान् पाल्साङ बम्जनसँगै फर्ममा काम गर्दै आएकी थिइन्।

अमृत विष्टको स्वामित्वमा रहेको उक्त गाई फर्ममा उनीहरूले पछिल्लो ११ दिनदेखि काम गरिरहेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–१ मा ८० वर्षीय नयाँराम जैशी मृत फेला परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार जैशी भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा मृत फेला परेका हुन् ।

घटनाको अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको डीएसपी सिंहले बताए ।

डीएसपी सिंहले भने–‘शव अहिले पनि घटनास्थलमै छ । मृतकका छोरा काठमाडौंबाट पुगेपछि मात्रै शव उठाउन भनिएको छ । शव परीक्षण बाँकी भएकाले मृत्युको कारण खुल्न सकेको छैन ।’

डीएसपी सिंहका अनुसार मृतकको शरीरमा चोटपटक पनि छैन । तर, जेशी परिवारको भान्जा नाता पर्ने भण्डारीसँग पहिलेदेखि नै विवाद भएको खुलेको छ ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्