कांग्रेस र रास्वपाका सांसदबीच संसदमा चर्काचर्की
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच चर्काचर्की परेको छ ।
अर्यालले आफूलाई अप्रत्यक्षरूपमा आरोपित गरेर खतिवडाले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका छन् ।
संसद बैठक सुरू भएलगत्तै सधैँजस्तो प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि सभामुखले रास्वपाका अर्याललाई बोल्न समय दिए । अर्यालले हिजोको बैठकको प्रसंग निकाले ।
यस्तो छ अर्याल र खतिवडाबीचको चर्काचर्की जस्ताको त्यस्तै
डोलप्रसाद अर्याल
३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध हामी आन्दोलनमा छौँ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति माग गरिरहेका छौँ । यस विषयलाई विषयान्तर गर्नेगरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो ।
राजनीतिलाई पेसा लगाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् । मलाई दया लाग्छ- २०४८/४९ सालतिर मन्त्रीका पिए बसेर कागज किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद् भएर बसिरहेका छन् ।
अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशका केही गरेर खाने मान्छे हुँ । चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बितेको छ भने म के भनौँ । मेरो कम्पनी मात्र एक जना मान्छे भिजिट भिसामा जापान मात्र होइन संसारको कुनै देश गएको छ ।
हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु । कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ ।
रामहरि खतिवडा
हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौँ । चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले संसद् थर्काइन्छ महोदय ? म अनुरोध गर्न चाहन्छु- कुनै बेला हामी अदालतबाट निर्दोष भएर संसद्मा प्रतिनिधित्व गरेका छौँ ।
तर आज दोषी भएका मानिसहरू ठूलो स्वरमा कराउँदाखेरि यहाँ आपत्ति छ । हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ । छानबिन गरौँ दोषी छ भने कारबाही गरौँ । निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ ।
कानूनी रूपमा हिजो पनि आज पनि म्यानपावर कम्पनीलाई दलालमार्फत सुविधा दिने २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालनको अनुमति दिने को मान्छे श्रम मन्त्री थियो । त्यो छानबिन गर्न म माग गर्दछु ।
त्यसपछि सभामुखले दुवै सांसदलाई सम्बोधन गर्दै भने–‘माननीयज्यूहरुले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ ।’
सभामुख देवराज घिमिरे
माननीयज्यूहरुले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ । गैरसंसदीय भाषा, एक अर्कालाई आरोप लान्छाना लगाउने र नाम किटेर भन्ने कुरालाई सामान्यतया रेकर्डबाट हटाउने नियमावली र परम्परा छन् ।
यसको मतलब प्रत्येक कुरा सभामुखलाई देखाएर आफूले बोलेका कुराको छिनोफानो गराउनु उचित हुन्छ कि हुँदैन ? प्रत्येक सदस्यले आफूले बोलेको कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्नुहुने विश्वास लिन्छु । जनप्रतिनिधिले त्यही विश्वासका साथ राख्न अनुरोध छ ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार
















