संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन, निर्णय लिने र परिणाम दिने मञ्च हो : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् भाषण र नाराबाजी गर्ने ठाउँ नभएको बताएका छन् ।
संसद् दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संसद् भाषण र नाराबाजी गर्ने ठाउँ नभई कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्च रहेको बताए ।
“संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रूपबाट यसलाई लानुपर्छ,” उनले भने ।
संसद्लाई जनताका पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ । उनले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासलाई विफल पार्न संसद्ले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौती सामना गर्नुपर्ने उनले धारणा राखे । व्यवस्था र प्रणालीको रक्षाका निम्ति एकजुट हुन उनले आह्वान गरे ।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार
















