सीमा क्षेत्रमा तस्कर र सरक्षाकर्मीबीच भिडन्त, अश्रुग्यास र हवाई फायर
काठमाडौं । धनुषाको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ ।
अबैध रुपमा नेपाल भित्र्याइँदै गरिएको सामान नियन्त्रणमा लिने क्रममा तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको हो । सशस्त्र प्रहरीको टोलीमाथि तस्करहरूको समूहले संगठित रूपमा आक्रमण गर्दा ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रुग्यास र चार राउन्ड हवाई फायर गरेको छ ।
धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार, जिल्लाको विदेह नगरपालिका–२, वैदेही दुहबीस्थित एक आँपको बगैँचामा भारतबाट तस्करी गरी ल्याइएका सामान लुकाइएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको ३० जनाको टोली त्यसतर्फ परिचालन गरिएको थियो ।
साँझ करिब ७ बजे प्रहरी टोली उक्त स्थानमा पुग्नासाथ घरेलु हतियार, लाठी र ढुंगामुढासहित तयारी अवस्थामा रहेका तस्करहरूले एक्कासी आक्रमण गरेका थिए ।
तस्करहरूको आक्रमणबाट घाइते भएका ६ जना सशस्त्र प्रहरी जवानहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जवाफी कारबाही सुरु गरेपछि तस्करहरू तितरबितर भएका थिए । घटनामा संलग्नहरूको पहिचान गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार










