मङ्गलबारदेखि मौसममा सुधार हुने


 


काठमाडौँ, चैत्र ७

पश्चिमी वायुको प्रभावले केही दिनदेखि अवरुद्ध मौसममा मङ्गलबारदेखि क्रमिक रुपमा सुधार आउने भएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको सम्मिश्रणले मौसम बदली भई काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा यसको असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले देशका अधिकांश भेगमा बदली गराउनाका साथै काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ । तीन दिनदेखि अवरुद्ध मौसम मङ्गलबारदेखि सुधारमा आउने मौसमविद् समिर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

महाशाखाका अनुसार आज खासगरी देशका पूर्वी तराई भेगमा बाक्लो बादल तथा चट्याङसहितको वर्षात् भएको तथा केही पहाडी जिल्लामा बदली भएको छ । त्यस्तै पश्चिमका नवलपरासीलगायत क्षेत्रमा हल्का वर्षा भएको छ ।

मनसुनपूर्वको मौसम भएकाले पनि मौसम बदली र हल्का वर्षाको सङ्केत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्