एनपीएलको दोस्रो सिजनका लागि नियमित अक्सनबाट २६ खेलाडी बिक्री, कसले पाए बढी मुल्य ?



काठमाडौं २४ साउन । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनको नियमित अक्सनबाट २६ खेलाडी बिक्री भएका छन् । अब १३८ खेलाडीको नाम २० जनाको लिस्टमा हुने छ।

१२ जना खेलाडी २० जनाको लिस्टबाट टिमहररूले छानेर आफ्नो कोटा पूरा गर्नेछन्। नियमित अक्सनबाट काठमाडौं गोर्खाजले ५ जना खेलाडीको कोटा पूरा गरेको छ।

अन्य टिमले भने अझै २० जनाको लिस्टबाट खेलाडी छानेर टिम पूरा गर्नेछन्।

दोस्रो संस्करणका लागि खेलाडी सम्पन्न अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।

ए क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले अनुबन्ध भएका थिए । उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा चाहेपछि भएको लक्की ड्र बाट चितवनले अनुबन्ध गर्न सफल भयो ।

त्यस्तै अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा यसपटक पनि लक्की ड्र मा चितवन भाग्यमानी साबित भयो ।

पहिलो सिजनमा चोटका कारण अक्सनमै समावेश नभएका पवन सर्राफमाथि ४ टोलीले बोली लगाएका थिए ।
उनलाई चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले अधिकतम १५ लाखमा चाहँदा भएको लक्की ड्र बाट कर्णालीले अनुबन्ध गर्‍यो ।

सबैभन्दा व्यग्र प्रतीक्षामा रहेका आदिल आलममाथि ८ वटै टोलीले बोली लगाएका थिए । न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए । तर लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो र आदिल काठमाण्डुमा १५ लाख रुपैयाँमा अनुबन्ध भए ।

ए क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ र सूर्य तामाङ बेस रकम अर्थात् १० लाख रूपैयाँमा क्रमशस् लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध भए ।

अझै केही टोलीहरूले आफ्नो स्लट पूरा गर्न बाँकी रहेकाले अब विश लिस्टबाट टिमहरूले खेलाडी छान्ने छन् ।

२६ खेलाडी अक्सनबाट अनुबन्ध भइसकेका छन् ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्