‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण
काठमाडौँ, ३१ साउन । सर्लाहीस्थित हरिवनका समाजसेवी स्वर्गीय तुलसीप्रसाद भट्टराईको स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ ।
आज यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा ‘तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठान’द्वारा आयोजित कार्यक्रममा ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ डा तुलसी भट्टराई, प्रतिष्ठानकी संरक्षक रत्नमञ्जरी भट्टराई, सर्लाहीका नेता विनोद खनाललगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।
उक्त स्मृतिग्रन्थमा स्वर्गीय भट्टराईका रचनासँगै स्मृतिमा लेखिएका लेखहरू रहेका उहाँका कान्छा छोरा एवं सञ्चारकर्मी नरेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तक पढेपछि अपरिचितका लागि पनि बा परिचित बन्नुहुन्छ ।
हाम्रो भट्टराई परिवारसँगै बासँग सामिप्यतामा रहनुभएकाले लेख्नुभएका लेखले अधिकांश विषय प्रस्ट्याएको छ । हामीले एउटा पुस्तकमार्फत बाले आफ्नो जीवनकालमा गर्नुभएको रचनालाई अभिलेखका रूपमा सङ्ग्रहित गरेका छौँ ।” उहाँले उक्त पुस्तक दुई सय ९४ पृष्ठको रहेको जानकारी दिनुभयो । सर्लाही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्वर्गीय भट्टराईले जीवनकालमा समाजका लागि गर्नुभएको योगदानको चर्चा गर्दै उहाँले देख्नुभएको सपनालाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामीले अहिले छोरी पढाउनुपर्छ, सबै जातका मानिसको समान अधिकार छ भन्ने विषयलाई स्वर्गीय भट्टराईले पहिलेदेखि उठान गर्नुभएको थियो । उहाँले शिक्षाका माध्यमबाट सुन्दर समाजको निर्माण गर्न सकिन्छ भन्ने सोचसहित काम गर्नुभयो । उहाँको सकारात्मक र दीर्घकालीन सोच हामीले अगाडि बढाउनुपर्छ”, उप्रेतीले भन्नुभयो ।
सर्लाहीका समाजसेवी एवं राजनीतिज्ञ विनोद खनालले सामाजिक विषयमा स्वर्गीय भट्टराईसँग परामर्श भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले शिक्षा क्षेत्रमा दिनुभएको योगदान र शिक्षा सबैको पहुँचमा हुनुपर्छ भन्ने भवनाले उहाँको व्यक्तित्वलाई प्रस्ट्याउँछ । मैले उहाँसँग धेरै भेट्न पाएको थिइन, तर उहाँले सामाजिक कार्यमा दिनुभएको योगदानलाई देखेको छु, त्यसकारण पनि उहाँको स्मृतिग्रन्थ उपयोगी हुने विश्वास लिएको छु ।”
उक्त पुस्तक डा तुलसी भट्टराई र डा होमप्रसाद भट्टराईले सम्पादन गर्नुभएको छ । पुस्तक लोकार्पण समारोहमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, गीतकार दिनेश अधिकारी, पूर्वमहान्यायधिवक्ता बद्रिबहादुर कार्कीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार







