विश्व स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदै



काठमाडौं ,चैत्र २५

डिप्रेसनबारे जानौं, खुलेर कुरा गरौं, र डिप्रेसन रोकथामका सेवाहरु वृद्धि गरौं भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।

विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओं. को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । डब्लु.एच.ओं आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

दिवसले स्वास्थ्य प्रणालीको माध्यमबाट डिप्रेसनको लक्षण तथा यसको समाधान गर्ने उपायका बारेमा विशेष जोड दिएको छ । विश्वभर ३० करोड बढी मानिसहरु डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने ८ लाख ९० हजार ३ सय ६१ जना डिप्रेसनको शिकार बनेको संगठनको तथ्यांक छ ।

समयमै उपचार पाए यो रोग सहजरुपमा निको हुने चिकित्सकको भनाई छ । १५ देखि २९ वर्षसम्मका मान्छेहरुको आत्मत्याको मुख्य कारक डिप्रेसनलाई नै मानिन्छ । हरेक उमेर समुहका मान्छेहरुमा डिप्रेसन हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

समयमै उचित साथ र सहयोग अनि उपचार पाए यो रोग सहजरुपमा निको हुन्छ । तनाव एवम् उच्च महत्वाकांक्षी सोच व्यवस्थापन, गरिबी तथा बेरोजगार निवारण गर्न सके डिप्रेसन हुने सम्भावना आधा कम हुने चिकित्सकहरु बताउँछन् ।

विश्वमा डिप्रेसनका शिकार हुनेको संख्या वढेसंगै पुरुषको तुलनामा महिला दोब्बर बढी प्रभावित हुने चिकित्सकहरु बताउँछन् । दक्षिण–पूर्वी एसियामा करिब ८ करोड ६० लाख मानिस डिप्रेसनको शिकार भएको डब्लु.एच.ओको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News