कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
कञ्चनपुर, मंसिर ९ । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको हो ।
आज बिहान करिब पौने ३ बजेतिर बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो । उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानवीय क्षति हुने गरेको छ ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार












