तराहरामा सुवासको एकल वाचन


 


इटहरी, (सुनसरी) चैत्र २८

हेवेन्लीपाथ नेपाल संयुक्त इकाई इटहरीद्वारा तराहरामा आयोजित कार्यक्रममा युवा गजलकार तथा गीतकार सुवास राई ‘क्याप्टेन’ ‘एकल वाचन’ कार्यक्रममा प्रस्तुत भए ।

कार्यक्रममा सुवासले संस्कार, संस्कृति र देशप्रेमले ओतप्रोत भएका भावनालाई आफूले गजलमा उतारेको बताउँदै आफ्ना सिर्जना वाचन आरम्भ गरे–

धार्नी–बिसौली जोख्ने तुलो देखिन यो सहरमा
कसैको पनि दिल ठूलो देखिन यो सहरमा ।
बस्नलाई महल छ, पकाउनलाई भान्सा घर पनि,
तर तीन ढुङ्गाको चुलो देखिन यो सहरमा ।

यी हरफहरु उनले वाचन गर्दा हलमा परर्र ताली बज्यो । भोजपुरमा जन्मिई हाल तरहरालाई कार्यथलो बनाई साहित्य सिर्जना गरिरहेका गजलकार राईले देशप्रेम र समाजको यथार्थ चित्रण गरेका तीन दर्जन बढी गीत र गजल सुनाएका थिए ।

उनको ‘सम्झनाको साँझबत्ती’, ‘सम्झना र सुनाखरी’ गजलसङ्ग्रह र ‘आम्लाबुङ र सिलिहाङमा’ गीत सङ्ग्रह प्रकाशित छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले कलिलै उमेरमा साहित्य सिर्जनामा लागेका सुवासका रचनाहरूले गाउँघरलाई सम्झाउने बताए । उनले भने, ‘सुवास सांस्कृतिकचेत भएका एक स्रष्टा हुन् ।

उनका सिर्जनाहरूले हामीलाई मुग्ध बनाउछन् ।’ उनले थपे, ‘स्रष्टा हुनु निकै कठिन कार्य हो तथापि निरन्तर साधना गरिरहे पक्कै सफल भइन्छ ।’

कार्यक्रमबारे विशन सिंह राईले प्रकाश पारेका थिए । विनोद राई, हेवेन्लीपाथ नेपाल संयुक्त इकाई इटहरीका अध्यक्ष जीतशेर राईलगायतले स्रष्टा राईका बारेमा बोलेका थिए ।

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्