नयाँ प्रकारको स्वाइन फ्लू, नेपालमा पनि जोखिम
काठमाडौं, वैशाख ४
स्वाइन फ्लूको नयाँ प्रजाति देखा परेकाले नेपालमा पनि जोखिम बढेको डाक्टरले बताएका छन् । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढेको हो ।
नयाँ प्रजातिको भाइरसको प्रतिरोधका लागि भ्याक्सिन पनि त्यही अनुसारको हुनुपर्ने भएकाले बेलैमा सचेतता अपनाउन पुनको सुझाव छ । विश्व स्वास्थ्य संगठनले भारतको महाराष्ट्रमा फैलिएको मचिगन स्ट्रेन नामक नयाँ प्रजातिको स्वाइन फ्लूको अध्ययन गरिरहेको छ ।
सामान्यता भारतमा देखिने कुनैपनि सरुवा रोग नेपालमा सजिलै प्रवेश गर्ने भएकाले यसलाई गम्भीर रुपमा लिएर अध्ययन गर्नुपर्नेमा डा. पुनले जोड दिए । नेपालमा दुई हप्ताअघि स्वाइनफ्लुका कारण एक जनाको ज्यान गएको थियो । घाँटी खसखस गरिहनु र रुघाखोकी लाग्नु स्वाइन फ्लुको लक्षण हो ।
प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार
















