अस्पताललाई सेवाका आधारमा वर्गीकरण गरिने


 


काठमाडौँ, वैशाख २२

सरकारले अस्पताललाई श्ययाका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्ने भएको छ ।

नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ मन्त्रिपरिषद्को बिहीबारको बैठकले पारित गरेपछि पहिलोपटक अस्पताललाई सेवा र गुणस्तरका आधारमा वर्गीकरण गरिन लागिएको हो ।

यसअघि राज्यको संरचना र श्यया सङ्ख्याका आधारमा मात्रै गरिएकामा अबदेखि सेवाका आधारमा वर्गीकरण गरिने व्यवस्था भएको हो ।

कुन अस्पतालमा कस्तो सेवा, पूर्वाधार, जनशक्ति उपकरण आदि रहने भन्ने मापदण्डमा उल्लेख गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

नयाँ मापदण्डअनुसार प्रत्येक वडामा स्वास्थ्य इकाइ हुने छ भने गाउँ वा नगर तहमा प्राथमिक अस्पताल हुनेछ ।

जिल्ला वा अहिलेका अञ्चल अस्पताललाई भने तृतीय तहको अस्पतालका रुपमा कम्तीमा हरेक प्रदेशमा एउटा रहनेगरी सेवाको व्यवस्था गरिने भएको प्रमुख सल्लाहकार पौडेलले बताउनुभयो ।

केन्द्रीयस्तरमा भने विशिष्टीकृत अस्पताल बनाइने मापदण्डमा उल्लेख छ । मुटु, क्यान्सर, प्रसूति, श्वासप्रश्वास आदिसम्बन्धी छुट्टाछुट्टै केन्द्रीय अस्पताल बनाउने मापदण्डमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

सबै प्रकारका अस्पतालमा के–कस्तो सेवा सुविधा हुनुपर्नेछ भन्ने निर्देशिका वा मापदण्ड बनाउने अधिकार भने केन्द्रीय सरकारलाई नै हुने भएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्