सर्वोच्चको आदेश : गोल्छालाई धरौटीमा छाड्नू
काठमाडौँ २१ वैशाख। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।
गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले यो आदेश दियो।
अदालतले धरौटी वा जमानत माग नगरी सिधै हिरासतमा राख्न दिइएका ११ र २१ वैशाखका आदेश उत्प्रेषणद्वारा बदर गरेको छ। अब धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राख्न सकिने परमादेश जारी गरिएको छ।
गोल्छालाई ११ वैशाखमा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाजिम्पाटले पक्राउ गरेको थियो। उनी हाल सोही ब्युरोको हिरासतमा छन्।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार
















