रोशीको भेलमा जबर्जस्ती गाडी हाल्ने पाँच चालक पक्राउ, ८९ यात्रुको मध्यराति उद्धार
काठमाडौँ, २२ वैशाख। रोशीको भेलमा जबर्जस्ती गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।
गाडीसँगै खोलामा फसेका ८९ यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
सोमबार (हिजो) साँझदेखि भएको वर्षाको कारण रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा फसेका थिए।
पूर्वतर्फबाट काठमाडौँ आउँदै गरेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो।
सुरक्षा निकायहरूको संयुक्त प्रयासमा मंगलबार (आज) बिहान करिब १ बजे सबै यात्रुको सफल उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए।
उद्धार कार्यका क्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन रोक्न निर्देशन दिएका थिए।
तर सो निर्देशन अवज्ञा गर्दै लापरवाहीपूर्वक सवारी चलाएर यात्रुको ज्यान र धनमा जोखिम पुर्याएको भन्दै पाँचवटै माइक्रो बसका चालकलाई नियन्त्रणमा लिइएको विष्टले बताए।
नियन्त्रणमा लिइएका चालकहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार
















