नेपालमा अवसर नै अवसर छ : चन्द्रप्रसाद ढकाल
काठमाडौं, २३ वैशाख। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर छैन भन्ने गलत भाष्य बनेको बताएका छन् ।
नेपालमा अवसर नै अवसर रहेको उनको भनाइ छ । यहाँ केही हुँदैन, केही गर्न सकिँदैन, लगानी पाइँदैन, अवसर मिल्दैन भन्नेमा आफू कहिल्यै सहमत नभएको उनले बताएका छन् ।
“हामीले महासंघमार्फत पनि यस्तो गलत भाष्य चिर्न पहल गरेका छौँ । यसैको पहलस्वरुप १० अर्ब रुपैयाँ पूँजीको एउटा पब्लिक कम्पनी बनाएका छौँ,” ढकालले रासससँगको अन्तर्वार्तामा भनेका छन्, “मेरै अगुवाइमा देशभित्र र देशबाहिर रहेका नेपालीबाट स–सानो लगानी संकलन गरेर बनाइएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीले ठूला पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअपमा लगानी गर्छ ।” यसले काम सुरु गरिसकेको उनले बताए ।
महासंघमा महिला उद्यमी, युवा तथा स्टार्टअप, साना र मझौला उद्यम व्यवसायलाई सहयोग गर्न क्रमशः युनिटहरू बनाउँदै लगेको उनले जानकारी दिए ।
“अहिले देशभरी नै महिला उद्यमी दिदीबहिनीहरूको संख्या बढिरहेको छ, स्टार्टअपका काममा पनि महासंघले सरकार र स्टार्टअप उद्यमीहरूलाई स्टार्टअप फोरमबाट सहयोग गर्दै आएको छ,” अध्यक्ष ढकालले भने, “हामीले नै स्टार्टअप नीतिका लागि पहल गरेर नीति ल्याउन पनि सफल भएका छौँ ।”
बाह्य लगानी भित्र्याउन विभिन्न देशका उद्यमी व्यवसायीहरूसँग अन्तरक्रिया र छलफलले तीव्रता पाएको उनले जानकारी दिएका छन् ।
बाह्य लगानीको वातावरण निर्माणमा पनि महासंघले कानुनी र नीतिगत सुधारमा पहल गरिरहेको उनको भनाइ छ ।
निजी क्षेत्रको अर्को प्राथमिकता रोजगारी रहेको उनले प्रस्ट पारेका छन् । “हामीले कसरी धेरैभन्दा धेरै युवालाई स्वदेशमा रोजगारी दिन सकिन्छ र त्यसका लागि कस्तो जनशक्ति आवश्यक छ भन्ने सन्दर्भमा बजार सर्भे गरेर पाठ्यक्रम निर्माण गर्नुपर्छ भनेर पहल गरिरहेका छौँ,” ढकालले भने, “प्राविधिक र सीपमूलक शिक्षाका लागि सरकारसँग सहकार्य गर्छौं भनेर सार्वजनिक रुपमै भनिरहेका छौँ ।”
निजी क्षेत्र रोजगारी सृजनाकर्ता, वस्तु उत्पादक, सेवा प्रवाहक, राजश्व संकलक भएकोले यसको लागि सरकारले आवश्यक व्यवसायिक वातावरण बनाउनुर्नेमा उनको जोड छ । यसबारे अवधारणापत्र नै बनाएर सरकारलाई बुझाएको उनले स्मरण गरे ।
“नयाँ बनेको सरकारले त्यो अवधारणा कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ,” ढकालले भने, “उक्त अवधारणालाई स्वीकार गर्दै कार्यान्वयन नै गर्ने सरकारको प्रतिवद्धता र निर्णयले निजी क्षेत्रको मनोबल बढाएको छ ।”
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार
















