एसियन सभात च्याम्पियनसिपमा नेपाल च्याम्पियन
काठमाडौं, २३ वैशाख। काभ्रेको धुलिखेलमा भएको सातौँ एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघको आयोजनामा वैशाख १६ देखि २० गतेसम्म भएको च्याम्पियनसिपमा नेपाल सर्वाधिक ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जितेर टिम च्याम्पियन बनेको हो ।
यस्तै, १८ स्वर्ण, २७ रजत र २२ कांस्यसाथ भारत दोस्रो तथा तीन स्वर्ण, चार रजत र एक कांस्यसाथ इन्डोनेसिया तेस्रो भएका थिए ।
च्याम्पियनसिपमा नेपालकी अमृता तामाङले फेयर प्लेको अवार्ड पाइन् भने उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लोल पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
हिमालयन अन्तर्राष्ट्रिय खुल्ला सभात च्याम्पियनसिपतर्फ न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलुले भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, फ्रांसबाट आएका अन्तर्राष्ट्रिय सभात महासंघका उपाध्यक्ष जिल दुइगूले प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपाल सभात संघका अध्यक्ष बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।
प्रतियोगितामा एसियाका विभिन्न ९ देशका करिब ३०० खेलाडी सहभागी थिए । अन्तिम समयमा विविध कारणले गर्दा थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडी आउन नसकेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम दिन विजेता खेलाडीहरूलाई पूर्वराज्यमन्त्री विराज विष्ट, अन्तर्राष्ट्रिय सभात संघका उपाध्यक्ष जिल दुइगु, नेपाल सभात संघका अध्यक्ष बस्नेत, नेपाल सभात संघका महासचिव सिद्धी व्यन्जनकार लगायतले मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
समापन समारोहमा अन्तर्राष्ट्रिय सभात महासंघका अध्यक्ष दुइगुले नेपालले सफल रूपमा प्रतियोगिता आयोजना गरेर आफूलगायत सम्पूर्ण सहभागी राष्ट्रको विश्वास जितेको र भविष्यमा विश्वस्तरका अन्य प्रतियोगिताहरू समेत आयोजना गर्न नेपाल सक्षम रहेको सन्देश विश्वसामु दिएको बताए ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार







