जेनजी आन्दोलनमा जेलबाट भागेका कैदी पुन : पक्राउ



काठमाडौँ, २४ वैशाख। केन्द्रीय कारागार सुन्धाराबाट आन्दोलनको मौका छोपेर फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले काभ्रेको पाँचखलबाट पुनः पक्राउ गरेको छ।

खोटाङको दिप्सुङ गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काभ्रेको पाँचखल नगरपालिका वडा नम्बर ७ शिखरपुर बस्दै आएका ४३ वर्षीय धिरज भनिने मोतिधन राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

राईलाई प्रहरी टोलीले काभ्रेको पाँचखल नगरपालिका वडा नम्बर ७ शिखरपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

विगतको घटना विवरण अनुसार, वि।सं। २०७५ साल भदौ ३ गते बिहान ६:०० बजेको समयमा काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ४ विष्णुमती पुलस्थित एक बंगुर फार्मभित्र छत्तर सिंह राई भनिने छत्र सिंह राईलाई बाँसको लाठीले निर्घात कुटपिट गरी हत्या गरिएको थियो। उक्त कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतले वि।सं। २०७६ साल असोज १ गते फैसला सुनाउँदै मोतिधन राईलाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय ठहर गरेको थियो।

अदालतको फैसलापछि कैद भुक्तानका लागि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा रहेका राई गत वर्ष २०८२ साल भदौ २४ गते आन्दोलन र झडपको फाइदा उठाउँदै फरार भएका थिए। फरार भएदेखि नै प्रहरीले उनको खोजी तीव्र पारेको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार फरार अभियुक्तको सुराकीका आधारमा खटिएको विशेष टोलीले उनलाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्