प्रधानन्यायाधीशमा रोलक्रम मिचेको विषयलाई लिएर बारले बोलायो बैठक



काठमाडौं, २५ वैशाख। प्रधानन्यायाधीश सिफारिस प्रकरण चर्किने सम्भावना बढेको छ । सर्वोच्च अदालतमा वरिष्ठता मिचेको भन्दै राजनीतिक दलदेखि न्यायीक क्षेत्र तरंगित बनेको छ ।

संवैधानिक परिषद् नै विभाजित भएको बेलामा वकिलहरू सक्रिय भएका छन् । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्त सिफारिस प्रकरणलाई गम्भीरतापूर्वक लिएको छ ।

बारले भोलि शुक्रबारका लागि आकस्मिक बैठक नै बोलाएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन बैठक डाकेको हो ।

बारले भोलिकाे बैठकमा कार्यसमितिसँगै सल्लाहकार, पूर्वपदाधिकारी र संविधानविद्हरूसँग छलफल गर्नेछन् । उक्त छलफलपछि आफ्नाे धारणा सार्वजनिक गर्ने बारले जनाएकाे छ ।

बारका अधिकांश पदाधिकारी तथा पूर्वपदाधिकारी पनि प्रधानन्यायाधीशमा वरिष्ठता मिचेकोमा असन्तुष्ट देखिएका छन् । परिषद्को सिफारिसमा राष्टियसभाका अध्यक्ष नारायण दाहाल र विपक्षी दलका नेता भीष्म आङदेम्बेले फरक मत राखेका छन् ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।


प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेकाे बैठकले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्