Deshko News
१६ आश्विन २०८०, मंगलबार

अक्सिजन कविलाई सम्झियो



काठमाडौं, वैशाख २९

अक्सिजन कवि उपनामले परिचित स्रष्टा बालकृष्ण अधिकारी ‘धनकुटे’ को सम्झनामा आइतबार राजधानीको पेप्सी टाउन प्लानिङमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

अधिकारीको प्रथम वार्षिकीमा आयोजित समारोहमा उनकी छोरी विन्दु अधिकारी ढकालको कविता कृति ‘विन्दुहरू’ तथा बुहारी यमुना पराजुली अधिकारीको गजल कृति ‘जलसा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, पूर्व मन्त्री तथा गीतकार एसपी कोइराला, गजलकारद्वय ज्ञानुवाकर पौडेल तथा शीतल कादम्बिनी तथा पत्रकार अखन्ड भन्डारीले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

कार्यक्रममा कृतिकारद्वय विन्दु र यमुनाले बुबा बालकृष्णको प्रेरणाले आफुहरू साहित्य सिर्जनाको गोरेटोमा हिँडेको बताउँदै कृति दिवंगत कविको तस्बिरमा सांकेतिक रूपमा समर्पण गर्नु भएको थियो ।

पुस्तक सार्बजनिक गर्दै उपकुलपति घिमिरेले नयाँ पुस्तामा नेपाली भाषा तथा सामाजिक संस्कारहरूप्रति ह्रास आइरहेका बेला दुई चेलीले पिताको पथ समातेर अनुकरणीय कार्य गरेको बताउँदै सिर्जनशील जीवनका लागि शुभकामना प्रदान गर्नुभयो ।

गजलकार ज्ञानुवाकर पौडेलले विमान उड्नुअघि धावन मार्गमा दौडाएजस्तै उदीयमान स्रष्टाद्वयका कृति धावन मार्गमा राम्ररी कुदेको र आगामी दिनमा आकाशमा उचाइ लिएर उडाउन अझै मेहनत गर्न सुझाउनुभयो ।

यसैगरी कविद्वय कोइराला र घिमिरेले सिर्जनामा निरन्तर मिहिनेतको आवश्यकतामाथि जोड दिँदै साहित्यिक सत्संग, अध्ययन र साधना सफलताका त्रिवेणी भएकाले प्रत्येकले लेखकले यी तीन कुरामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

पत्रकार अखन्ड भन्डारीले कवि बालकृष्ण अधिकारीको जीवनी तथा व्यक्तित्वबारे प्रकाश पार्दै अधिकारी नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत भएको बताउनुभयो ।

विमोचित कृतिहरूका बारेमा कवि सुरेश हाचेकाली, कवि ओमकार प्रथा, गजलकारद्वय जितेन्द्र रसिक र श्रीराम राईले पनि टिप्पणी गर्नु भएको थियो ।

विन्दुको पहिलो कृति ‘विन्दुहरू’ मा ५० थान कविता रहेका छन् भने यमुनाको पहिलो पुस्तक ‘जलसा‘ मा ७५ थान गजल समावेश छन् ।

कवि बालकृष्णकी धर्मपत्नी लक्ष्मीको सभापतित्वमा भएको उक्त समारोहमा कविका सुपुत्र अनित अधिारीले बुबाका नाममा दुई लाखको अक्षय कोष स्थापना गरी आगामी वर्षदेखि कविता सर्जक तथा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरिने घोषणा गर्नुभयो ।

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News