२०८२ काे एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण



भक्तपुर, २८ वैशाख। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष देशभरबाट परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थीले माथिल्लो कक्षामा अध्ययनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन् ।

नतिजाअनुसार उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीहरूको सङ्ख्या उल्लेखनीय रहेको छ । ३.६० देखि ४.०० जीपीए हासिल गर्ने विद्यार्थी ४८ हजार ३ सय ९२ जना रहेका छन् भने ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ८० हजार ३ सय ७२ पुगेको छ ।

त्यसैगरी,

  • २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ९४ हजार २ सय २२ जना,
  • २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९ सय ७७ जना,
  • २.०० देखि २.४० जीपीए प्राप्त गर्ने ५ हजार १ सय ९० जना रहेका छन् ।

१.६० देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून रहेको छ । यस समूहमा केवल ७ जना विद्यार्थी रहेका छन् ।

यस वर्षको नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले ‘एनजी’ (Non-Graded) प्राप्त गरेका छन् । बोर्डका अनुसार दुई विषयसम्म एनजी प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै चाँडै ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिनेछ । दुईभन्दा बढी विषयमा एनजी प्राप्त गर्ने विद्यार्थीले भने आगामी वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा विगतका वर्षहरूको तुलनामा सन्तोषजनक रहेको जनाएको छ । बोर्डका अनुसार शिक्षण–सिकाइको गुणस्तर क्रमशः सुधार हुँदै गएको संकेत यस नतिजाले दिएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्