सञ्जालमा ‘झोले’, ‘सुल्फे’ वा ‘खरानी’ जस्ता गालीगलौजले लोकतान्त्रिक संस्थालाई कमजोर बनायो : माजिद अन्सारी



काठमाडौँ, ३ जेठ। जेन–जी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताए।

अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमै क्षय हुँदै गएको धारणा व्यक्त गरेका छन्। अन्सारीकाअनुसार लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ । उनले गत वर्षको २३ गतेको आन्दोलन शुरुमा सरकार ढाल्ने नियतले नभई अनियमितता विरुद्ध र राज्यको न्युनतम जवाफदेहिता खोज्नका लागि मात्र भएको स्पष्ट पारे। संविधान निर्माणपछिको एक दशक पुराना राजनीतिक दलहरूकै वर्चश्व रहेका कारण नयाँ र वैकल्पिक बहसहरू मूलधारमा आउन नसकेको उहाँको तर्क छ । २३ गतेको घटनापछि पुराना दलहरू एक किसिमले विस्थापित हुँदा नयाँ बहस शुरु भएपनि सामाजिक सञ्जालमा देखिएको ‘झोले’, ‘सुल्फे’ वा ‘खरानी’ जस्ता गालीगलौज र चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थाहरूलाई थप कमजोर बनाएको उनले उल्लेख गरे।

उनले भने, नागरिकहरू केवल जवाफदेहिता माग्न सडकमा उत्रिएका थिए, तर आफ्नै नागरिकमाथि बल प्रयोग गरिएपछि २४ गते सरकार ढल्ने परिस्थिति निर्माण भयो । टिकटक जस्ता माध्यममा पेट्रोल बम बनाउने तालिम चलिरहँदा र आन्दोलनको तयारी भइरहँदा सुरक्षा निकाय बेखबर रहनु उदेकलाग्दो छ । कोरियाली ईपीएस काण्ड र चैत १५ को राजावादी आन्दोलन जस्ता पूर्वसंकेतहरू हुँदाहुँदै पनि राज्यले सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक लिएको देखिएन । हामी नागरिक सत्ताको बलमा परिवर्तन चाहन्थ्यौँ, तर हाम्रा सुरक्षा निकायहरू यति कमजोर भएछन् कि उनीहरूलाई आन्दोलनको सामान्य स्वरूप समेत थाहा भएन । राष्ट्रिय सुरक्षा केवल वाह्य हस्तक्षेपबाट मात्र होइन, हाम्रा आफ्नै संरचनाहरू भित्रभित्रै खोक्रो भएका कारण बढी जोखिममा छ ।’

सुरक्षा निकायको भूमिकामाथि कडा प्रश्न उठाउँदै अन्सारीले राज्यको गुप्तचरी र पूर्वतयारी शून्य देखिएको आरोप लगाए। प्रधानमन्त्रीलाई सुरक्षा दिनुपर्ने निकायले नै ‘उद्धार गर्न सक्दैनौँ, राजीनामा दिनुस्’ भन्नुले संस्थागत कमजोरीको पराकाष्ठा उजागर गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार