संसदीय समितिमा रास्वपाको प्रस्ताव : प्रधानन्यायाधीश सुनवाइ ढिला नगरौँ



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रश्तावित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माको संसदीय सुनुवाई प्रक्रियालाई थप विलम्व नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन् ।

मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डा। लेखजंग थापा र राजीव खत्रीले सुनुवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका हुन्।

बुर्लाकोटीले प्रश्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई प्रक्रियालाई थप विलम्व नगरी अगाडि बढाउनुपर्नेमा जोड दिए। बैठकमा बोल्दै प्रमुख सचेतक बुर्लाकोटीले कार्यतालिका बमोजिम नै उजुरीकर्ताहरूसँगको छलफल र प्रश्तावित प्रधानन्यायाधीशको कार्ययोजना सुन्ने कार्यलाई तिब्रता दिनुपर्ने बताए।

उनले उजुरीकर्ताहरूलाई पालैपालो बोलाएर छलफल गर्नुपर्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना समेत सुन्नुपर्ने प्रस्ताव गरे। समितिमा प्राप्त भएका उजुरीहरूमध्ये कतिपयमा गम्भीर त्रुटिहरू रहेको उल्लेख गर्दै उनले ती विषयमा छलफलकै क्रममा स्पष्ट हुनुपर्ने धारणा राखे। सुनुवाईको नतिजा पहिले नै सुनिश्चित रहेको भन्ने खालका टिप्पणीहरूको खण्डन गर्दै उनले वस्तुनिष्ठ छलफलका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने बताए।

छलफलका क्रममा गम्भीर विषयहरू देखिए सिफारिस गर्ने निकायसम्म पुगेर थप सञ्चार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि उनले सचेत गराए। प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै प्रमुख सचेतक बुर्लाकोटीले जहाँ बाधा पर्छ, त्यहीँ मात्र रोकिएर समस्याको समाधान खोज्न समितिलाई आग्रह गरे।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार