महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६’ आयोजना हुने



काठमाडौँ, १३ जेठ । आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ १७ देखि २० गतेसम्म काठमाडौँको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ ।

हरेक वर्ष आयोजना हुँदै आएको उक्त क्रिकेट लिग यस वर्ष पनि बैंकको वार्षिक उत्सवअन्तर्गत सञ्चालन हुन लागेको हो । प्रतियोगितामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४५ खेल खेलाइनेछन् भने करिब २४० खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा नौ वाणिज्य बैंक, सात विकास बैंक, तीन वित्त कम्पनी, एक लघुवित्त संस्था, तीन बिमा कम्पनी र एक मर्चेन्ट बैंक गरी २४ टोली सहभागी हुनेछन् ।

लिगको उद्घाटन समारोह जेठ १७ गते हुनेछ भने समापन तथा पुरस्कार वितरण कार्यक्रम जेठ २२ गते आयोजना गरिनेछ । प्रतियोगिताअघि आयोजित टाइसिट तथा भेटघाट कार्यक्रममा विजेता र उपविजेता ट्रफी सार्वजनिक गर्नुका साथै सहभागी टोलीका कप्तानलाई जर्सी वितरण गरिएको थियो ।

प्रतियोगिता लिग कम नकआउट ढाँचामा सञ्चालन हुनेछ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहको उत्कृष्ट टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ । खेल १० ओभर प्रति इनिङ्सका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेता र उपविजेता टोलीसँगै ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डर तथा ‘फेयर प्ले अवार्ड’ सहित विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेल बैंकको आधिकारिक युट्युब च्यानल तथा नेवा टेलिभिजन र यसको युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

“सबल बैंक, सफल सहकार्य” नारासहित सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब आठ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार