सामाजिक न्याय केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी
काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्याय, समता र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याएको बताएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले बजेट संविधानको मर्मअनुसार सामाजिक न्यायलाई केन्द्रमा राखेर तयार गरिएको बताए।
प्रतिपक्षी दलहरूले बजेट संविधानको भावनाविपरीत आएको आरोप लगाएको सन्दर्भमा उहाँले आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिइएको स्पष्ट पारे।
मन्त्री वाग्लेले सरकार सुशासनको कठोर एजेन्डासहित अघि बढेको उल्लेख गर्दै जनतासमक्ष गरिएको प्रतिबद्धताबाट विचलित नहुने बताए। आफूविरुद्ध करका दर हेरफेरसम्बन्धी आरोप लागेकामा प्रतिक्रिया दिँदै उहाँले दुई अर्ब रुपैयाँ मात्र होइन, दुई रुपैयाँ बराबरको अनियमितता गरेको प्रमाणित भए मन्त्री पद र सार्वजनिक जीवन त्याग्न तयार रहेको बताए।
बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरूले बजेटलाई आर्थिक पुनरुत्थान, सामाजिक न्याय, समावेशी विकास र कल्याणकारी राज्य निर्माणतर्फ उन्मुख रहेको बताए। सार्वजनिक खर्च विस्तार, रोजगारी सिर्जना, आयकर छुट सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य तथा शिक्षामा लगानी वृद्धि र पूर्वाधार विकासका लागि गरिएको विनियोजनलाई सकारात्मक पक्षका रूपमा उनीहरूले उल्लेख गरे।
सांसदहरूले बजेटमा तय गरिएका लक्ष्य र उद्देश्य कार्यान्वयनमा सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिए।
यता प्रतिपक्षी सांसदहरूले बजेट संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादउन्मुख व्यवस्थाको लक्ष्यअनुसार नआएको टिप्पणी गरे। उनीहरूले बजेटले रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, साना किसान तथा भूमिहीन कृषि श्रमिकको हित संरक्षणमा पर्याप्त ध्यान दिन नसकेको बताए।
स्वास्थ्य र शिक्षालाई मौलिक हकका रूपमा स्थापित गरिएको अवस्थामा बिरामीमाथि करको भार थप्ने तथा स्वदेशी औषधि उद्योगलाई कमजोर बनाउने खालका व्यवस्था बजेटमा समेटिएको भन्दै प्रतिपक्षी सांसदहरूले आलोचना गरे।
उनीहरूले प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता सुदृढ बनाउने स्पष्ट योजना बजेटमा नदेखिएको तथा सरकारी कर्मचारीको तलब वृद्धि भए पनि महँगी नियन्त्रणमा प्रभावकारी योजना नआएकाले आम नागरिक अझै प्रभावित हुने बताएका छन्।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















