सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानीमा मात्रै नक्साङ्कन बाँकी : परराष्ट्रमन्त्री खनाल



काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा अन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको बताएका छन्।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित र निर्देशित रहेको बताए।

उनले केही स्थानमा दसगजा अतिक्रमण तथा सीमा पारबाट भएको कब्जा (क्रस बोर्डर अकुपेसन) सम्बन्धी समस्या विद्यमान रहेको जानकारी दिए।

मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा उठाएको सीमासम्बन्धी विषय मूलतः दसगजा अतिक्रमण र सीमा पारको कब्जासँग सम्बन्धित रहेको स्पष्ट पारे।

उनका अनुसार नेपाल र भारतबीचको सीमालाई व्यवस्थित र वैज्ञानिक रूपमा व्यवस्थापन गर्न नक्साङ्कन हुन बाँकी रहेका क्षेत्रमा सीमा स्तम्भ निर्माण तथा मर्मत, दसगजा अतिक्रमणसम्बन्धी तथ्याङ्क सङ्कलन र सीमा पारको अतिक्रमण अभिलेखीकरणको काम भइरहेको छ।

“हालको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल–भारत सिमाना अन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थानबाहेक अन्य केही स्थानमा क्रस बोर्डर अकुपेसन तथा दसगजा अतिक्रमणका समस्या विद्यमान छन्,” मन्त्री खनालले बताए।

उहाँले लामो समयदेखि अवरुद्ध रहेको नेपाल–भारत संयुक्त प्राविधिक समितिको काम पुनः सक्रिय भएको जानकारी दिँदै दुवै देशका संयुक्त प्राविधिक टोली सीमा क्षेत्रमा परिचालन भएर लगत सङ्कलनको कार्यमा जुटेको बताए।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्