त्रिभुवन विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ



काठमाडौँ, २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजार नगदसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन्।

आज अपराह्न १ बजे बाटिक एयरको उडानमार्फत मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रको झोला जाँचका क्रममा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन्। प्रहरीका अनुसार इन्ताजअली ३८ पटक र हुसैन ११ पटक नेपाल आवतजावत गरेको खुलेको छ।

उनीहरूले सुटकेसभित्र कृत्रिम (फल्स) बटम बनाई नगद लुकाएर लैजान खोजेको अवस्थामा रु ३१ लाख ५१ हजार बरामद गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दुवै जनालाई राजस्व अनुसन्धान विभाग पठाइएको जानकारी दिनुभयो।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्