हिमालय उद्धार सङ्घद्वारा वसन्त ऋतुमा १ हजार ३६२ बिरामीको उपचार



काठमाडौँ, २८ जेठ । हिमालय उद्धार सङ्घले यस वर्षको वसन्त ऋतुमा हिमाली क्षेत्रमा एक हजार ३६२ बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।

सङ्घको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा उपचार सेवा प्रदान गरिएको जानकारी दिइयो।

सङ्घका नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले पछिल्लो समय हिमाली क्षेत्रमा सञ्चालित स्वास्थ्य केन्द्रहरूमा उपचार गराउने स्वदेशी तथा विदेशी पर्वतारोहीको सङ्ख्या बढ्दै गएको बताए।

सङ्घका अनुसार सगरमाथा आधार शिविरमा सबैभन्दा बढी ६०६, फेरिचेमा ४२० र मनाङमा ३३६ बिरामीले सेवा लिएका छन्। उपचार गराएकामध्ये ९५० जना नेपाली र ४१२ जना विदेशी रहेका अध्यक्ष पराजुलीले जानकारी दिए।

हिमाली क्षेत्रमा आकस्मिक उद्धार तथा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने दिशामा सङ्घ प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

सङ्घको जेठ १८ गते सम्पन्न निर्वाचनबाट पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुशीलकृष्ण अधिकारी, महासचिवमा प्रयुश न्यौपाने, कोषाध्यक्षमा तुलसी गुरुङ तथा सदस्यमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, विकास शाह रैनियार, डा. सुभास दवाडी, नरबहादुर अस्तानी र दावा स्टिभेन शेर्पा निर्वाचित भएका छन्।

संस्थागत सदस्यतर्फ थामसेर्कु ट्रेकिङ प्रालिका डा. यादव अधिकारी र मोनतेरोसा ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका गणेशबहादुर न्यौपाने निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले शपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गरेका छन्।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालका अनुसार हिमालय उद्धार सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे, मनाङ गाउँ तथा जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्दै पर्यटक, पदयात्री र स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्