अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, २८ जेठ । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अमेरिका पठाइदिने भन्दै ३५ लाख रुपैयाँ ठगी गरेको आरोपमा रुकु कुमारी श्रेष्ठ पक्राउ परेकी छन्।
प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार ४५ वर्षीया श्रेष्ठको स्थायी घर दोलखाको शैलुङ गाउँपालिका–२ हो। उनी हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ मा बसोबास गर्दै आएकी थिइन्।
यसैगरी, क्रोएसिया पठाइदिने भन्दै तीन लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा ३५ वर्षीय शैलेन्द्र शाक्य पक्राउ परेका छन्। शाक्यको स्थायी घर मोरङको उर्लाबारी नगरपालिका–६ रहेको छ भने उनी हाल काठमाडौँको टोखामा बस्दै आएका थिए।
प्रहरीका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएका थिए। रकम लिइसकेपछि लामो समयसम्म झुक्याएर सम्पर्कविहीन बनेका थिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















